हिंसा र आन्दोलनको बाटो त्यागेर मधेशको दीर्घकालीन विकासमा जुट्न सांसद सिंहको अपिल
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद अमरेशकुमार सिंहले मधेशमा पटक–पटक हुने आन्दोलन, जातीय तथा धार्मिक हिंसाले यस क्षेत्रको प्रगतिमा अवरोध पुर्याएको भन्दै गम्भीर चिन्ता व्यक्त गरेका छन्। उनले सम्पूर्ण मधेशवासीलाई हिंसात्मक गतिविधि त्यागी एकताबद्ध भएर समृद्धिको यात्रामा अघि बढ्न अपिल गरेका छन्।
बिहीबार बिहान सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै सांसद सिंहले आन्दोलन र हिंसाका कारण मधेशले ठूलो मूल्य चुकाउनुपरेको बताए। उनले भने, “यस्ता गतिविधिले मधेशको भौतिक संरचनामा क्षति पुग्ने, शैक्षिक सत्र बिग्रिने र व्यापार–व्यवसाय पूर्णरूपमा ठप्प हुँदा समग्र आर्थिक विकासमा गम्भीर धक्का लागेको छ।”
सांसद सिंहले अबको समय मधेशको समुन्नत विकासका लागि वर्ग र समुदायबीचको एकता आवश्यक रहेकोमा जोड दिए। उनले भने, “मधेश अब हिंसा र द्वन्द्वको चक्रबाट बाहिर निस्कनुपर्छ। अबको हाम्रो मुख्य प्राथमिकता शिक्षा, स्वास्थ्य, भौतिक पूर्वाधारको निर्माण, आधुनिक कृषि प्रणाली र युवाहरूको लागि रोजगारीको सिर्जना हुनुपर्छ।”
दीर्घकालीन विकासका लागि शान्तिपूर्ण वातावरण अपरिहार्य रहेको बताउँदै उनले मधेशका नागरिक, बुद्धिजीवी र राजनीतिक नेतृत्वलाई विकासको एजेन्डामा केन्द्रित हुन आग्रह गरेका छन्।
सांसद सिंहको पोष्ट हेर्नुहोस्-
प्रिय मधेशवासी
पटकपटक को आन्दोलन, जातिय र धार्मिक हिंसाले मधेशलाइ अशान्त मात्र होइन १० बर्ष पछाडि धकेलेको छ। यस्ता हरेक गतिविधिले मधेशको भौतिक संरचना भत्काउने ,शैक्षिकसत्र अबरुद्ध हुने,ब्यापार व्यवसाय ठप्प हुने जस्ता ले मधेशलाइ नै धक्का लाग्ने गरेको छ।
अब समय आएको छ सबै बर्ग सामुदाय मिलेर मधेशको सम्मुनत बिकासको एजेन्डा लाई अगाडि सारेर अघि बढन , अब मधेशले कुनैपनी हिंसात्म्क गतिविधि नगरेर सम्पुर्ण मधेश एक ढिक्का भएर मधेशको शिक्षा,स्वास्थ्य,भौतिक पुर्वाधार ,कृषि र युवाको रोजगारी मा दीर्घकालीन बिकासमा जोड दिने समय हो।
म सम्पुर्ण मधेशवासी आमा बुवा दाजुभाइ दिदिबहिनी मा अपिल गर्न चाहन्छु कुनैपनि असमाजिक तत्व जस्ले एकजुट भएर बसेको समाजको शान्ति,सद्भाव खलबलाउने ब्याक्तीको पछाडि नलाग्न अनुरोध गर्दछु। त्यस्ता गतिविधि गर्ने जुनसुकै सामुदाय या बर्गको भएपनी त्यो मधेशको बिकासको बिरोधी हो बुझ्नुपर्छ र त्यास्ता लाई समाजिक बहिष्कार गर्नुपर्छ।



तपाईको प्रतिक्रिया दिनुहोस